नेपालमा बेलायती सेनाध्यक्ष व्यस्त, राष्ट्रपति र प्रधानसेनापतिसँग भेटवार्ता


कठमाडौं – नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपालको चार दिवसीय भ्रमणका लागि शनिबार नेपाल आएका सेनाध्यक्ष स्मिथले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाध्यक्ष स्मिथले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा वीर स्मारकमा माल्यार्पण गरेका थिए । उनको सम्मानमा जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण गर्नाका साथै पोखराको अवलोकन गर्नेछन् ।

नेपाल र बेलायत बीच सदीऔं देखि नै सुमधुर सम्बन्ध रही आएको छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement