सेनाको कमाण्ड जागिर वा अधिकार होइन,सेवाभावको जिम्मेवारी हो : प्रधानसेनापति शर्मा


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको कुनै पनि तहको कमाण्ड भन्नु जागिर वा अधिकारको कुरा नभई सेवाभावका साथ अत्यन्त संवेदनशील भई निर्वाह गर्नुपर्ने उत्कृष्ट जिम्मेवारी भएको कुरा बताएका छन् ।

गण तथा गुल्महरूको कमाण्ड गरिरहेका एवं निकट भविष्यमा कमाण्डमा नियुक्त हुन लागेका अधिकृतहरूका लागि सञ्चालित प्रशिक्षण कार्यक्रमका सहभागीलाई सम्बोधन गर्दै सेनापति शर्माले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय परिस्थितिहरूको संक्षिप्त चर्चा गरे ।

नेपालको राष्ट्रिय सुरक्षा लगायत राष्ट्रहितका विविध क्षेत्रमा परिरहेको र पार्न सक्ने असरका साथै नेपाली सेनाको दायित्वका बारेमा उनले प्रकाश पारे । सेनापति शर्माले आफ्नो जिम्मेवारी क्षेत्रका जनता, जनप्रतिनिधि, विभिन्न निकायका कर्मचारी एवं कानून कार्यान्वयन गर्ने निकायमाझ सम्बन्धित युनिटले समग्र संस्थालाई प्रतिबिम्बित गर्ने कुरा उल्लेख गर्दै आम नेपालीको आस्था र भरोसाको केन्द्रको रूपमा स्थापित नेपाली सेनाको गौरवलाई कायम राख्न मुख्य भूमिकामा रहेका युनिट कमाण्डर लगायत सबैलाई पेशागत मर्यादामा रहेर संस्था र कार्यरत सकलदर्जाको हितमा समर्पित रहन निर्देशन दिए ।

नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवद्ध रहेको बताउँदै सेनापति शर्माले भने, ‘व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त्य गर्न प्रतिवद्ध छु ।’

पछिल्लो समयमा विभिन्न सञ्चारमाध्यमको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारवाही, नियमित सञ्चालन प्रक्रिया लगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेकोतर्फ सकलदर्जालाई सचेत रहन निर्देशित गर्दै सेनापति शर्माले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको र विधि, पद्धति तथा प्रक्रिया विपरीत कसैसँग कुनै सम्झौता नगर्ने बताए ।

उनले भने, ‘असंख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुरासयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरूको दुस्प्रयासले नेपाली सेना कमजोर हुने छैन ।’

सेनापति शर्माले आफ्नो र प्रधानमन्त्रीको बीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई सेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुशी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुस्प्रचार पूर्णतः गलत रहेको बताए ।

रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया शुरु भएसँगै सम्भावित उम्मेदवारको उमेर, शैक्षिक योग्यता आदिलाई विषयवस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको भन्दै सेनापति शर्माले शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू आवश्यकता अनुसार सम्बद्ध निकायबाट यकिन गरेर मात्र जङ्गी अड्डाले कारवाही अघि बढाउने गरेको बताए । सेनापति शर्माले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीका कागजात शंकास्पद देखिएकाले कारवाही गर्न सिफारिस गरेको उदाहरण पनि दिए ।

सेनापति शर्माले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रूपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने कुरा बताउँदै स्वस्थ प्रतिष्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भए तापनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न सकलदर्जालाई सुझाव दिए । उनले नेपाली सेनामा सरुवा, बढुवा लगायत वृत्तिविकास सम्बन्धी कार्यहरूका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरू रहेकोबारे सकलदर्जालाई जानकारी हुँदाहुँदै संस्था बाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन सम्बद्ध सबैलाई सचेत गराए ।

जङ्गी अड्डामा आयोजित कार्यक्रममा जङ्गी अड्डा र नजिकका निकायमा कार्यरत रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement