सेनामा आर्थिक अनियमितताः दुई कर्णेल सैनिक प्रहरीद्धारा प्रक्राउ


काठमाडौं – रासनमा अनियमितता गरेको आरोपमा नेपाली सेनाका एक महासेनानी प्रक्राउ परेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा महासेनानी भुपालमान अधिकारी प्रक्राउ परेका हुन् । उनलाई ‘लाइन एरेस्ट’ गरेको सैनिक स्रोतले पुष्टि गरेको छ ।

महासेनानी अधिकारी नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयमा प्रमुख सम्र्पक व्यक्ति हुंदा रासन अनियमितता गरेको खुलेपछि उनलाई सैनिक प्रहरीले हिरासतमा लिएको हो । हाल अधिकारीलाई सैनिक मुख्यालयभित्रै रहेको १५ बाहिनीअन्र्तगतको (गणेश दल) मा राखिएको छ । अधिकारीको विषयमा छानविन गर्न सेनाले सहायकरथी प्रदिपजंग केसीको नेतृत्वमा ‘कोर्ट अफ इनक्वाईरी’ समेत गठन गरेको छ । उक्त समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।

अधिकारीमाथी महाविद्यालयमा प्रमुख हुंदा आर्थिक अपचलन गरेको आरोप लागेको छ । उनले रासनबाट आम्दानी भन्दै प्राइवेट फण्डमा प्रति महिना १ देखी २ लाखसम्म मात्र देखाएका थिए । त्यसपछि उक्त विद्यालयको प्रमुख रहेका प्रमुख सेनानी देव क्षेत्रीले प्रति महिना ७ देखी ७ लाख ५० हजारसम्म आम्दानी देखाएको स्रोतको दाबी छ । हाल उक्त विद्यालयको प्रमुख सम्र्पक व्यक्ति रहेका प्रमुख सेनानी अनुप शाहले मासिक १५ लाख आम्दानी देखाएपछि सैनिक मुख्यालयले यसअघि रासनमा अनियमितता भएको निष्कर्श निकाल्दै अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकारीले अनुसन्धानको क्रममा महासेनानी अधिकारीले रासन बाहिर वेचेको र ठेकेदारले उनको व्यक्तिगत खातामा पैसा समेत जम्मा गरेको प्रमाण भेटिएको काठमाडौंपाटीलाई बताए । सेनाले महाविद्यालयमा नै कार्यरत कोर्ट मास्टरलाई समेत पक्राउ गरेर बयान लिएको थियो । उनी शान्ति सेनामा जाने तयारीमा समेत थिए । उनले समेत महासेनानी अधिकारीको निर्देशनमै आफुले काम गरेको बयान दिएका छन् । अधिकारीलाई जागिरबाट निलम्बन गर्ने र असुल उपर गर्ने सजाय हुन् सक्ने सम्भावना छ ।

हाल वार कलेजमा कार्यरत प्रमुख सेनानी देव क्षेत्रीलाई पनि सैनिक प्रहरीले हिरासतमा लिएको छ । उनलाई सैनिक मुख्यालयभित्र रहेको एमटीमा राखिएको छ । उनीमाथी समेत अनुसन्धान जारी छ । क्षत्री नेपाली सेनामा गण कमाण्ड नगरेका प्रमुख सेनानी हुन् । उनलाई तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गण कमाण्ड विना नै उक्त महाविद्यालयको सम्र्पक व्यक्तिका रुपमा पठाएका थिए । तत्कालिन प्रधानसेनापति क्षत्री मध्यपृतनाको पृतनापति हुंदादेखी नै देव उनिसंगै हेटौडामा कार्यरत थिए ।

यता, प्राविधिक उपरथीहरु सुधीर श्रेष्ठ र अजितवरसिंह थापामाथी समेत अनुसन्धान सुरु भएको सैनिक स्रोतले दावी गरेको छ । श्रेष्ठले केही समयअघि मात्र सैनिक सेवाबाट अवकास पाएका थिए । श्रेष्ठ सेनाको हवाई महानिर्देशनालयको प्रमुख थिए भने थापा सैनिक सामाग्री उत्पादन महानिर्देशनालयको प्रमुख छन् ।

दुवै जनामाथी सामान खरिदमा अनियमितता गरेर आर्थीक अपचलन गरेको आरोप छ । सेनाको कार्यरथी विभागले आन्तरिक अनुसन्धान सुरु गरिसकेको सैनिक स्रोतले जानकारी दियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा आर्थिक अनियमितता गर्नेलाई नछोड्ने चेतावनी दिंदै आएका छन् । उनले सेनापतिको कार्यभार सम्हालेसंगै उच्च सैनिक अधिकृतमाथी कार्वाही प्रक्रिया अघी बढेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement