सेनाका दुई सैनिक जर्नेलको जन्ममिति विवादमा, जागिर लम्ब्याउन उमेर घटाएको खुलासा


काठमाडौ– नेपाली सेनाका दुई सैनिक उच्च अधिकृतको जन्ममिति विवादमा आएको छ। सहायक रथी अशोकराज सिग्देल र उपरथी ताराध्वज पाण्डेको जन्ममिति शैक्षिक योग्यता प्रमाणपत्रमा फरक देखिएपछि उनीहरु विवादमा तानिएका हुन्।

उपरथी बढुवाको लाइनमा रहेका सिग्देलको शैक्षिक प्रमाण पत्रमा जन्ममिति २०२१ माघ १९ गते देखिन्छ । तर, सहायकरथी सिग्देलको नेपाली सेनामा बुझाएको अभिलेखमा भने नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ कायम गरेर २ वर्ष उमेर घटाएको देखिन्छ ।

सेनाको सुपिङ क्याम्पसबाट जारी सिग्देलको शैक्षिक योग्यताको प्रमाणपत्रमा सेसन ०४०÷०४२ समूह मानविकी (पाँचौं)ब्याजमा दर्ता नम्बर १६ मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको देखिन्छ । यसैगरी, त्रिभुवन विश्वविद्यालयको दर्ता नम्बर ७०८–८४ नं. को प्रमाणपत्रमा जन्म मिति २०२१ माघ १९ कायम छ।
सेनाको मध्य पृतनापति हेटौंडाको कमाण्ड सम्हालिरहेका उपरथी पाण्डेले पनि २ वर्ष उमेर घटाएको विवरणले देखाउँछ । सेनाको सुपिङ क्याम्पसबाट जारी पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्रमा सेसन ०४१–०४३ समूह मानविकी (चौथो) ब्याजको प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्रमा जन्ममिति २०२१ माघ १२ देखिन्छ । तर, उनले नेपाली सेनामा बुझाएको अभिलेखमा भने २०२३ मंसिर २३ गते जन्ममिति उल्लेख छ।

सिग्देल र पाण्डेको जन्ममिति सच्याएको उजुरी सैनिक मुख्यालयमा परिसकेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले यसअघि उमेर सच्याउने र नक्कली प्रमाण भएकाहरुलाई जागिरबाट हटाउने र कतिपयलाई पदावधी थप नगरेर विदा गरिसकेका छन् । सिग्देल र पाण्डेको हकमा पनि सेनाले आन्तरिक रुपमा छानविन गरिरहेको स्रोतको दावी छ ।

‘ उहांहरुले नागरीकता सच्याएको भन्ने उजुरीको आधारमा छानविन सुरु भएको छ, प्रमाणित भएको अवस्थामा सैनिक ऐनअनुसार कार्वाही हुन्छ ।’ सेनाका एक उपरथीले काठमाडौंपाटीसंग भने ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले सैनिक अधिकृतहरुले उमेर सच्याएकोबारे आफुलाई जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement