प्रधानसेनापतिले सुरू गरे देशभरका किल्ला अध्ययन


काठमाडौं – बुटवल उपमहानगरपालिकाले जितगढीमा विशेष गुरुयोजना बनाएर काम अगाडि बढाइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको अवलोकन गरेका छन् ।

उनले नेपाल एकीकरण पूर्व पश्चातका विभिन्न किल्लाहरु, सामरिक महत्वका क्षेत्रहरु, गढीहरुलाई जोडेर नेपाली सेनाले विशेष अध्ययन गरिरहेको जानकारी दिए । त्यसक्रममा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेको लगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराएका छन् ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाइको तामाको पूर्णकदको शालिक र  झण्डा बनाएर राख्न थालेको छ ।

उपमहानगर प्रमुख शिवराज सुवेदीले बुटवलले जितगढीलाई राष्ट्रियताको प्रतिक र बुटवलको पहिचानका रुपमा विकास गर्न लागिएको भन्दै सबैको सहकार्यको खाँचो रहेको बताए । विसं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज-नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement