प्रधानसेनापतिलाई भारतको राष्ट्रिय सुरक्षा स्वार्थबारे एक घण्टाको गोप्य ‘ब्रिफिङ’


काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले गत पुस २७ गतेदेखि ५ दिनसम्म भारत भ्रमण गरे । थापा भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणमा नयाँदिल्ली गएका थिए ।

भारत भ्रमणमा रहँदा सेनापति थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए । दुवै देशबीच चल्दै आएको परम्परा अनुसार मानार्थ महारथीको दर्जा प्रदान गरिएको हो ।

अविश्वास हटाउने र शंका मेटाउने प्रयास
सेनापति भएपछि पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेका थापाको भारतीय सेनासँग सम्बन्ध सुधार भएको बताइएको छ । भदौको अन्तिम साता भारतले पुनेमा गरेको बिमस्टेक राष्ट्रबीचको संयुक्त सैन्य अभ्यासमा नेपालले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेपछि सम्बन्धमा केही अवरोध देखिएको थियो ।

नेपाली सेनाले अभ्यासमा सहभागिता जनाउन खोज्दाखोज्दै पनि राजनीतिक निर्णयले सेना पछि हटेको थियो । सेनापति थापाको भारत भ्रमणका क्रममा अविश्वास हटाउने र शंका मेटाउने काम भएको सैनिक स्रोतले जनाएको छ ।

नेपाल र भारतीय सेनाबीच विशेष सम्बन्ध रहेको अवस्थामा थापाको भ्रमणले सम्बन्ध सुधारका लागि झनै सहयोग पुगेको छ । लोकसभा चुनावको तयारीमा रहेको राजनीतिक नेतृत्वसँग भेटघाट हुन नपाएपनि सेनापतिको भ्रमणले सैनिक सम्बन्धले पुनर्ताजगी पाएको छ ।

भ्रमणलाई विशेष महत्व
लोकसभा चुनाव सकिएपछि राजनीतिक नेतृत्व र सरकारी नेतृत्वसँग भेटघाट गर्ने गरी भ्रमणमा आउन सेनाध्यक्ष रावतले थापालाई निम्तो दिएका छन् । सेनापति थापाले समेत रावतलाई नेपाल भ्रमणको निम्तो दिएको सैनिक स्रोतले जनाएको छ । सेनापति थापाको भ्रमणलाई भारतीय सेनाले विशेष महत्व दिएको थियो ।

भारतीय सेनाले सेनापति थापालाई भारतिय वायू सेनाको विशेष ईमवे्रयअर विमानमार्फत् नयाँदिल्ली बाहिर भ्रमण गराएको थियो । थापाले लखनऊ, जयपुर, वनारस लगायतका क्षेत्रको अवलोकन भ्रमण गरे । भारतमा नेसनल डिफेन्स कोर्स (एनडीसी) तालिम पूरा गरेका सेनापति थापाले सँगै तालिम लिएका एनडियूका कमाण्डेट भाइस एडमिरल श्रीकान्तसँग पनि भेटवार्ता गरेका छन् । थापाले महासेनानी हुँदा सन् २००९ मा भारतमा एनडीसी तालिम लिएका थिए ।

थापाले सेण्ट्रल कमाण्ड लखनऊ र साउथ वेस्टर्न कमाण्ड जयपुरको समेत निरीक्षण गरे । सेण्ट्रल कमाण्ड लखनऊले नेपालको दक्षिण भाग (विहार उत्तरसँग जोडिएको भाग, उत्तर प्रदेशको उत्तरी भाग र उत्तराखण्ड) हुँदै चिनियाँ सीमासम्मको सुरक्षा हेर्ने गरेको छ । भारतको दक्षिण पश्चिम कमाण्ड जयपुरले पाकिस्तानको सीमा सुरक्षा हेर्ने गरेको छ ।

थापालाई भ्रमण गराइएका दुवै क्षेत्र निकै संवेदनशिल मानिन्छन् । सेण्ट्रल कमाण्डअन्र्तगत अपरेशनलभन्दा लजेस्टिक र तालिम केन्द्रहरु बढी पर्ने गर्दछन् । थापाले कमाण्ड हेडक्वार्टर गएर त्यहाको जानकारी लिएका थिए ।

थापाले वनारसको ३९ गोरखा प्रशिक्षण केन्द्र र लखनऊको गोरखा राइफल रेजिमेन्टल सेन्टरमा निरीक्षण गर्दै जवानसँग कुराकानी समेत गरेका थिए । गोरखा सैनिकले भुकम्पको बेला सहयोग गरेको भन्दै सेनापति थापाले धन्यवाद ज्ञापन समेत गरे ।

सेनापति रावतसंग वान टु वान वैठक
सेनापति थापाको भारत भ्रमणका क्रममा सेनाध्यक्ष विपिन रावतसँग एक्लाएक्लै गोप्य भेटवार्ता समेत गरेका छन् । भेटमा रावतले भारत सरकारले छिमेकलाई पहिलो प्राथमिकता दिने नीति लिएकाले आवश्यक सहयोग गर्न तयार रहेको बताएको सैनिक स्रोतले जनाएको छ । भारतले नेपाली सेनालाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सेनापति थापाले एनडीसी तालिमको कोटा बढाइदिन आग्रह गरेपछि सेनाध्यक्ष रावतले कोसिस गर्ने बताएका थिए । हाल भारतले नेपाललाई एउटा कोटा उपलव्ध गराउंदै आएको छ । सेनाध्यक्ष रावतको संलग्नतामा थापालाई भारतको राष्ट्रिय सुरक्षा स्वार्थबारे एक घण्टासम्म गोप्य ‘ब्रिफिङ’ समेत गरिएको थियो ।

भारतिय सेनाको समेत मानार्थ सेनापति रहेका थापालाई भारतको सुरक्षास्वार्थ र सुरक्षा अवस्थाका बारेमा व्रिफिङ भएको सैनिक स्रोतले बतायो । यसअघि मानार्थ प्रधानसेनापतिलाई डिजिएमओ र डिएमआईले सिचुएसनको व्रिफिङ गर्ने परम्परा रहेको छ ।

नेपाली सेनामा सांगठनिक र प्रशासनिक सुधारको अभ्यासलाई कार्यान्वयन गरेपछि थापा भारत भ्रमणमा गएका हुन् । सेनापति भएको लामो समय हुँदा समेत थापा विदेश भ्रमणमा गएका थिएनन् । आन्तरिक सुधारका अभ्यास कार्यान्वयनमा गएपछि अब सेनापति थापा सैनिक कुटनीतिमा लागेका छन् ।

सेनापति थापालाई भारत भ्रमणबाट फर्केको भोलिपल्ट नवनियुक्त चिनियां राजदूतले शिष्टाचार भेटवार्ता गरीसकेकी छन् । सैनिक सहचारी सहभागी भेटमा उनलाई चीन भ्रमणको निम्तो समेत प्राप्त भएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement