प्रधानसेनापति क्षत्री भारत प्रस्थान


काठमाडौँ – प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति आज भारत भ्रमणमा गएका हुन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानसेनापति क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले बिदाइ गरेका थिए ।

भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले देहरादुनस्थित भारतीय सेनाको एकेडेमीमा सञ्चालित अधिकृत आधार तालीमको आयुक्त पद प्रदान कवाजको प्रमुख अवलोकन अधिकृतकारुपमा आतिथ्यता गर्नेछन् ।

भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणको दौरान प्रधानसेनापति  क्षत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसहित अन्य उच्चपदस्थ अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी उनी यही जेठ २८ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement