सेनाको रथी बढुवामा सिफारिस भएका उपरथी पाण्डेले दिए पदबाट राजीनामा


काठमाण्डु – नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उमेर विवादमा छानविन गर्न अख्तियारले रक्षामन्त्रालयलाई निर्देशन दिएपछि पाण्डेले पदबाट राजीनामा दिएको सैनिक स्रोतले बतायो ।

प्रधानसेनापति प्रभुराम शर्माले वरियताको आधारमा पाण्डेलाई रथी बढुवाका लागि सिफारिस गरेका थिए । रथी बढुवाका लागि पाण्डेपछि उपरथी अशोक सिग्देल र निर्मल थापा लाइनमा थिए । सिग्देलको समेत पाण्डेको जस्तै जन्ममितिमा कैफियत रहेको सैनिक अधिकारीहरुको दावी छ ।

सेनाको युद्धकार्य महानिर्देशक रहेका पाण्डेको रथीमा बढुवा सिफारिस भएपछि उमेर विवादमा आएसंगै विभिन्न निकायमा उजुरी परेको थियो । सेनाले भने विज्ञप्ति नै निकालेर पाण्डेको उमेर विवाद नभएको प्रष्ट पारेको थियो ।

पाण्डे रथीमा बढुवा भएको अवस्थामा भावी प्रधानसेनापति बन्ने बाटोमा थिए । उनले विहिवार पदबाट राजीनामा दिएको स्रोतले दावी गरेको छ ।

प्रधानसेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्न २९ असोजमा ७ दिने सूचना जारी गरेका थिए । त्यो विचमा प्रधानसेनापति शर्मा चीन भ्रमणमा गएर १६ कात्तिकमा स्वदेश फर्केपनि बढुवा भने अघि बढेको थिएन ।

पाण्डेलाई रथीमा बढुवा सिफारिस गरेपछि उनले पदबाट राजीनामा दिएसंगै प्रधानसेनापति शर्मा समेत अफ्ठेरोमा परेका छन् । यसले सेनाको भावी प्रधानसेनापतिको रोलक्रम नै तलमाथि भएको छ । यससंगै उपरथी सिग्देल र थापा शर्मापछि प्रधानसेनापति बन्ने लाइनमा पुगेका छन् ।उपरथी सिग्देलको समेत जन्ममितिमा कैफियत भएकाले उनको बढुवामा समेत यो प्रश्न उठ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement