नेपाली सेनाले भन्यो- एसपीपीबारे पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक हाे


काठमाण्डु – नेपाली सेनाले पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०१५ मा अमेरिकी दूताबासलाई लेखेको पत्र आधिकारिक भएको पुष्टि गरेको छ ।

२०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति क्षेत्रीले अमेरिकी सैन्य सहकार्य ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) का लागि अनुरोध गरेको पत्र आधिकारिक भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुष्टि गरेका हुन् ।

तर, उनले उक्त पत्र पूर्वप्रधानसेनापति क्षेत्रीले एसपीपीका लागि नभई २०७२ को भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्रराष्ट्रलाई थप सहयोगका लागि अनुरोधमा लेखेको पत्र मात्र भएको बताए ।

उक्त पत्रमा अमेरिकी सेनासँग सहकार्य गर्ने, विपद् व्यवस्थापमा सहयोग लिनेलगायतका कुराहरु भएको र जुन नेपाली सेनाले अहिले पनि गर्दै आइरहेको विषय भएको बताए ।

‘सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र हो । त्यसबेला अमेरिकासँग पनि सहयाेग माग्ने क्रममा पत्र लेखिएको हो । त्यो बेलामा आईपीएस पनि थिएन । अहिलेको अवस्थामा फरक तरिकाले व्याख्या गरिएको छ । अहिलेको अवस्थालाई हामीले राम्रोसँग बुझेका छौं,’ उनले भने ।

त्यस्तै उनले सेनाले बुधबार सार्वजनिक गरेको विज्ञप्ति अक्षरसः ठिक भएको बताए । ‘सार्वजनिक भएको भनिएको सम्झौताका विषयमा नेपाली सेनालाई कुनै जानकारी छैन । अहिलेसम्म एसपीपीका विषयमा कुनै सम्झौता भएको छैन,’ उनले भने । आगामी दिनमा त्यस्तो सम्झौता नहुने पनि सेनाले स्पष्ट पारिसकेको छ ।

२०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसएसपी) सम्झौताका लागि अनुरोध गरिएको पत्र सार्वजनिक भएको थियो ।

तत्कालीन अमेरिकी राजदूत एलाइना बी टेप्लिजलाई सम्बोधन गरिएको पत्रमा नेपालका तर्फबाट तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। नेपाल सरकारको अनुमतिमा उक्त पत्र पठाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement