हाइयर कमाण्ड तालिमले नेतृत्वको विकासमा अहम भूमिका निर्वाह गर्छ : प्रधानसेनापति शर्मा


काठमाण्डु – नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा भाद्र १३ गतेबाट संचालन भएको सि.सं.१० हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन भएकाे छ । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्‍डास्थित सगरमाथा हलमा आयोजित एक कार्यक्रमकाबीच सि.सं.१० हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन गरेका हुन् ।

कार्यक्रममा शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सफलतापूर्वक तालिम समापन गरेकोमा सम्पूर्ण शिक्षार्थीहरुलाई बधाइ दिई यस तालिमले कमाण्ड तहको जिम्मेवारी पूरा गर्न सक्षम, प्रभावकारी एवं भविष्यमुखी नेतृत्वको विकासमा अहम भूमिका निर्वाह गर्ने बताए।

साथै, उनले यस तालिमले शिक्षार्थीहरुलाई रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार र सल्लाहकारका रुपमा समेत सक्षम बनाएको विश्वास व्यक्त गरेका थिए ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त समापन कार्यक्रममा उक्त वार कलेजका कमाण्ड तथा तालिमका मुख्य शिक्षक उपरथी संजय थापाले स्वागत मन्तव्य राखेका।

महिला सैनिक अधिकृत-२ र पुरुष अधिकृत-३३ जना गरी जम्मा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको उक्त तालिममा समग्रमा महा सेनानी सुरज गुरुङ्ग प्रथम भएका छन् भने महासेनानी विमल कुमार बस्नेत शोधपत्रतर्फ प्रथम भएका छन् ।

हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च स्तरको तालिम हो । वि.सं. २०७१ सालदेखि नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुँदै आएको यस तालिममा उक्त कलेजबाट हालसम्म महिला सैनिक अधिकृत ९ जनासहित जम्मा २७२ जना अधिकृत दीक्षित भएका भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement