सेनाको पृतनापति समन्वयात्मक बैठकमा भ्रष्टाचार नियन्त्रण र नक्कली प्रमाणपत्रको छानविनबारे चर्चा 


काठमाडौं – नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७६’ सैनिक मुख्यालयमा सुरु भएको छ । प्रत्येक वर्ष शिवरात्रीभन्दा अघि सुरु हुने उक्त बैठकको रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितीमा आईतबार शुभारम्भ भएको हो ।

दुई दिनेसम्म सैनिक मुख्यालयमा चल्ने ‘पृतनापति समन्वयात्मक बैठकमा रक्षामन्त्री पोखरेलका साथै प्रधानसेनापति, रक्षा सचिव, रथीबृन्द तथा पृतनापतिहरुको सहभागिता रहेको छ । सम्मेलनमा आठ वटै पृतनाका पृतनापति, सैनिक गुप्तचर महानिर्देशनालयका प्रमुख र अपरेशन विभागका प्रमुखले आआफ्नो क्षेत्रको रिपोर्टीङ्ग गर्नेछन् ।  कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा स्पष्ट कार्य नीति सहित अघि बढेको भन्दै सेनामा आन्तरिक रुपमा भईरहेका भ्रष्टाचार नियन्त्रणका काम तथा छानविनमा मन्त्रालय र सरकारको पूर्ण साथ रहने बताए ।

उनले नेपाली सेनाले विशेष गरि नागरिकता र प्रमाणपत्रको छानविन, भर्ना छनौटमा भएको अनियमितता माथिको छानविन र कारवाही, आर्थिक अपचलनका विषयमा भएका छानविन एवम् नियमित अनुगमन जस्ता कार्यले नेपाली सेनामा दीर्घकालीन एवम् सकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना भएको दावी गरे । नैतिक चरित्र तथा जनताप्रति उत्तरदायी सेना भएको देशले कहिल्यै कसैसंग डराउनु नपर्ने मन्त्री पोखरेलको भनाई थियो ।

‘सैनिक ऐन तथा नियमावलीहरुबाट संचालित हुने नेपाली सेनाभित्र यदि कुनै आन्तरिक समस्या भएमा उक्त समस्याको समाधान जंगी अड्डाले नै समाधान गर्नुपर्दछ ।  जंगी अड्डाको परिधिभित्र सम्बोधन गर्न नसकिएमा मन्त्रालय समस्या समाधानको लागि सदैव तयार छ । ’ मन्त्री पोखरेलले बैठकमा भने ।

मन्त्री पोखरेलले अनावश्यक तथा अनाधिकृत चलखेल, भनसुन तथा प्रचारवाजीमा विश्वास नगर्न समेत बैठकमा निर्देशन दिएका छन् । बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै तहका कमाण्डरहरुको काम कारवाहीहरु पारदर्शी, नैतिक, र पदिय दायित्व बमोजिमको जवाफदेही र उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

बलाधिकृत रथी शरद कुमार गिरीले बैठकमा स्वागत मन्तव्य राख्दै नेपाली सेनाको विविध गतिविधिहरुको प्रगती प्रतिवेदन तथा भावी योजना समेत प्रस्तुत गरेका थिए  ।  रथी गिरीले नेपाली सेनालाई समय सापेक्ष थप सक्षम, व्यवसायिक, श्रोत साधन सम्पन्न र उच्च मनोबल भएको सेनामा रुपान्तरण गर्ने परिकल्पना सहित अघि बढेको बताए ।

सेनाले समन्वयात्मक बैठकका दौरान हुने छलफल र अन्तरक्रियाका निचोड र निष्कर्षहरुले आगामी दिनहरुमा नेपाली सेनाको सम्पूर्ण नीति तथा योजना निर्माण तथा प्रभावकारी कार्यान्वयनमा ठोस योगदान पुर्याउने विश्वासे लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement