सेनामा रथी रिक्तताको संकट ! किन ब्युतियो जन्ममिति विवाद ?


काठमाण्डु – भावी प्रधान सेनापतिको रूपमा हेरिएका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएपछि नेपाली सेनाभित्र जन्ममिति विवाद जबरजस्त रूपमा ब्युतिएको छ । बढुवा सिफारिस समितिले पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गरेपछि उनलाई भावी प्रधानसेनापतिको रूपमा हेरिएको थियो ।

भावी प्रधानसेनापतिको रूपमा पाण्डेको नाम चर्चामा आउँदा उनको जन्ममिति सम्बन्धी विवाद पनि चर्चामा आएको थियो । तर, नेपाली सेनाले विज्ञप्ति नै जारी गरेर जन्ममितिमा कुनै विवाद नभएको र यसअघि नै परीक्षण भइसकेको स्पष्ट पारेको थियो । सेनाका अधिकारीहरु परिक्षा नियन्त्रण कार्यालयलाई लेखेको पत्र र त्यसको जवाफको आधारमा पाण्डेको डिफेन्स गरेको बताउंछन्।

कात्तिक ५ गते सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो, ‘पदोन्नतिको प्रक्रिया अगाडि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेर सम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्था लगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत प्रक्रियालाई विवादित तुल्याउने आशयले भएको टिकाटिप्पणीमा सत्यता नरहेको व्यहोरा जानकारी गराइन्छ ।’ पाण्डेको डकुमेण्ट सबै ठिक छ भन्ने पत्रको आधारमा उनको बढुवा अघि बढेको सेनाका अधिकारीहरुको दावी छ ।

पाण्डे उपरथीमा बढुवा हुँदा पनि शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्रमा छुट्टाछुट्टै जन्ममिति रहेको सम्बन्धी विवाद देखिएको थियो तर त्यतिवेला उनले सफाइ पाएर बढुवा भएको थियो । प्रधानसेनापति बन्ने चर्चा र सम्भावनाबीच पाण्डेले राजीनामा नै दिएपछि जन्ममिति विवाद गम्भीर हुनसक्ने अनुमान गरिँदैछ । यससँगै सेनाको रथी बढुवा पनि प्रभावित भएको छ ।

रथीमा रिक्तताको संकट !

नेपाली सेनाको इतिहासमा रथी पद कहिल्यै रिक्त नभएको बताइन्छ । रथी पद रिक्त हुनुअघि नै पदपूर्ति गरिसक्ने व्यवस्था छ । तर यसपालि पाण्डेको जन्ममिति विवाद र राजीनामाले रथी बढुवा प्रक्रिया नै प्रभावित बनेको छ ।

सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले कात्तिक १२ गते अवकाश पाएपछि सेनामा एक रथीको दरबन्दी रिक्त छ । अर्का रथी सीताराम खड्का पुस ३ गते उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

सेनामा अवकाशको १५ दिनअघि नै अनिवार्य बिदा बस्ने चलन रहेको छ । त्यसैले रथी खड्का मंसिर १८ गतेदेखि नै बिदामा बस्नेछन् । रथी बढुवाको प्रक्रिया पु¥याउनुपर्ने भएकाले केही समय सेनाको रथी पद रिक्त रहन सक्ने सेनाका एक उच्च अधिकारीले बताए ।

विवाद बल्झिने सम्भावना

उपरथीमा बढुवा हुँदा उमेर यकिन भएका भनिएका पाण्डेले राजीनामा दिएपछि सेनाभित्र जन्ममिति विवाद ब्युतिएको छ । जन्ममिति विवाद पाण्डेको राजीनामासँगै अन्त्य होला ? उच्च स्रोतका अनुसार सेनाभित्र अरु पदाधिकारीको नाममा पनि जन्ममिति विवाद सतहमा आउनसक्ने सम्भावना छ ।

पाण्डेको राजीनामापछि बढुवाको पर्खाइमा उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा रहेका छन् । यी दुवै उपरथीको जन्ममिति र शैक्षिक योग्यतामा पनि विवाद रहेको र बढुवा प्रक्रिया अगाडि बढाउँदा सतहमा आउनसक्ने बताइन्छ । उपरथीमा बढुवा सिफारिस भएका सहायकरथी सन्तोषबल्लव पौडेलले समेत उमेर नपुग्दै जागिर खाएको र जन्ममिति घटाएको भन्दै रक्षामा उजुरी परेको स्रोतले बतायो । यसअघि रथी बढुवाका लागि नाम सिफारिस हुनुअघिसम्म पाण्डेको जन्ममिति विवाद पनि सतहमा आएको थिएन ।

‘वरिष्ठतम् उपरथीहरू पनि जन्ममिति विवादमा तानिने देखिन्छ । उपरथी पाण्डेको राजीनामाले जन्ममिति विवाद पुनः ब्युतिएको छ । यसअघि भएका छानबिनमा प्रश्न उठेको छ,’ स्रोतले भन्यो, ‘जन्ममितिमा जालझेल रहेको यकिन भएमा कारवाही हुने भएकाले शंकास्पद अन्य पदाधिकारीले पनि मार्गप्रशस्त गर्नेछन् ।’

उपरथी पाण्डेको जन्ममिति विवाद सम्बन्धमा वरिष्ठतम् रथी सीताराम खड्काको नेतृत्वमा छानबिन भएको थियो । छानबिन समितिको प्रारम्भिक अनुसन्धानमा कागजात शंकास्पद देखिएपछि कोर्ट मार्सल (सैनिक अदालत) गठन हुने देखिएपछि पाण्डेले राजीनामा दिएको स्रोतको दाबी छ ।

सेनाले उनको जन्ममितिमा विवाद भएपछि सरकारी निकायमा पत्राचार गरेको र विवरण ठिक भएको जानकारी आएपछि बढुवा समितिले उनको बढुवा सिफारिस गरेको दावी छ । सेनाका रथी खड्का नेतृत्वको बोर्डले उनको नाम प्रधानसेनापति प्रभुराम शर्मासमक्ष सिफारिस गरेको थियो । तर, शर्माले उनको नाम सात दिने उजुरी दिने समय सकिंदा समेत अघि बढाएका थिएनन् ।

अख्तियार,प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हुंदै उनको बारेमा छानविन गर्न दबाव बढेपछि प्रधानसेनापति शर्माले उनको बढुवा रोकेका थिए । प्रधानसेनापति बन्दा पनि पछि विवाद हुने डरले पाण्डेले पदबाट राजीनामा दिएका हुन् । सेनामा अव रथी बढुवा सिफारिस गर्दा सम्पूर्ण डकुमेण्ट हेर्ने तयारी भएको छ ।

सेनामा जन्ममिति विवाद बढ्दै गएपछि उपरथी सन्तोष ढकालमा आएर रोकिने एक उच्च अधिकारीले बताए । ‘जन्ममिति विवादले एकातिर रथी पद रिक्त रहनेछ भने अर्काेतिर अन्य उपरथी पनि विवादमा तानिनेछन्,’ ती अधिकारीले भने, ‘उपरथी सन्तोष ढकालको जन्ममितिमा विवाद नभएकाले त्यहाँ पुग्दासम्म विवादको सामना गरिराख्नुपर्ने देखिन्छ ।’

सेना जस्तो कडा अनुशासन भएको संगठनभित्र पनि उच्च पदस्थ पदाधिकारीमा जन्ममिति विवाद देखिनुले संगठनको छविमा पनि असर गर्ने चर्चा छ । सैनिक संगठनले जन्ममिति विवाद जस्ता विषयलाई लामो समयसम्म कायमै राख्दा र समयमै यथार्थ निरुपण गर्न नसक्दा अन्तिममा विवादले उग्ररूप लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement