नवौँ राष्ट्रिय खेलकुद : टेनिसमा आर्मीका दुवै टोली फाइनलमा


काठमाण्डु – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा विभागीय नेपाली सेनाका दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । यसैगरी आयोजक गण्डकी प्रदेश पनि फाइनलमा प्रवेश गरेको छ ।

नेपालको शीर्ष वरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र सेनाको टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन् । यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाए ।

पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज भएको खेलमा टिम इभेन्ट विधाको पुरुष एकल विधामा गण्डकीका खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३,६–३ सेटमा पराजित गरे । यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुष्मान घलेबीचको खेलमा ६-१, ६-० सेटमा शाही विजयी भए । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा गण्डकीका आशिष कुमार र सौगात विकेको जोडीले एपिएफका निश्चल र श्रीयोगको जोडीमाथि ४-१, ४-२ सेटको जित निकालेपछि गण्डकीले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

यसैगरी पुरुष एकलको अर्को खेलमा पुलिसका आर्यन गिरीले आर्मीका एकी रावतलाई ६-२,६-४ को सेटमा पराजित गर्नुभयो । आर्मीका प्रनभ खनाल र पुलिसका प्रनभ मानन्धरबीचको खेल ६–३, ६–१ को सेटमा खनाल विजयी भए । पुरुष डबल्सतर्फ आर्मीका प्रनभ र एकीको जोडीले पुलिसका आर्यन र प्रनभको जोडीलाई ६–२, ७–६ को सेटमा पराजित गरेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

टिम इभेन्टको महिला एकलतर्फको प्रतिस्र्धामा आर्मीका इरा रावत र अभिलाषा विष्ट विजयी भए । उनीहरुले क्रमशः पुलिका प्रशंसा मोक्तान र पुलिसका इसा डोल्लकर गुरुङलाई पराजित गरे । महिला डबल्सतर्फ पुलिसका आइसा र प्रशंसाको जोडीले आर्मीका इसा श्री र सुभांगीको जोडीलाई पराजित गरे ।

महिला एकलतर्फ एपिएफका सुनिरा थापा र सर्भानी श्रेष्ठ विजयी भए। डबल्सतर्फ सर्भानी र डिब्नाको जोडीले बागमतीका प्रकृति र रायानाको जोडीलाई पराजित गरेपछि एपिएफ टिम इभेन्टको फाइनलमा प्रवेश गर्न सफल भए ।

यसैगरी व्यक्तिगत इभेन्टको पुरुष एकलतर्फ मधेश प्रदेशका राजवीर प्रधान एनआएरएनएका कृष्ण थापालाई पराजित गरी प्रिक्वार्टरफाइनलमा प्रवेश गरे। पुरुष डबल्सतर्फ एनआरएनएको आरभ र डावाको जोडी, पुलिसका प्रनभ र आर्यनको जोडी, गण्डकीका आशिष र सौगात तथा लुम्बिनीका रितिक र सक्षमको जोडी क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।

यसैगरी महिला डबल्सतर्फ एपिएफका सुनिता र सर्भानीको जोडी तथा बागमतीका प्रकृति र रायानाको जोडी अन्तिम चारमा पुगेको छ । मिक्स डबल्सतर्फ गण्डकीका सौगात विके र श्रीया भट्टराईको जोडी र बागमतीका रोजन र अजयको जोडी क्वार्टरफाइनलमा प्रवेश गरेको नेपाल टेनिस सङ्घका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement