काठमाण्डु– चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षाका लागि सरकारी संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ।
भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको ‘अर्नब’ नेपाल प्रवेश गर्ने क्रममा कमजोर हुने मौसमविद्को आकलन छ। नेपालमा यसको प्रत्यक्ष प्रभाव अत्यधिक शक्तिशाली नहुने देखिए पनि वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना भने रहेको छ।
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले विभिन्न क्षेत्रमा माइकिङ तथा सचेतनामूलक कार्यक्रममार्फत सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिरहेका छन्।
यस्तै, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटक र पर्वतारोहीलाई आधिकारिक मौसम पूर्वानुमान हेरेर मात्र यात्रा तय गर्न आग्रह गरेका छन्। विशेषगरी हिमाली क्षेत्रमा मौसममा आउन सक्ने आकस्मिक परिवर्तनलाई ध्यान दिन उनीहरूले अनुरोध गरेका छन्।
हवाई सुरक्षालाई समेत उच्च प्राथमिकतामा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनदेखि हवाई ट्राफिक व्यवस्थापनसम्मका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीको निरन्तर सञ्चालनमा विशेष ध्यान दिन भनिएको छ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालयहरूले पनि आफ्नो क्षेत्रको सम्भावित जोखिमको मूल्याङ्कन गर्दै आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन स्थानीय तह तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।
सरकारले चक्रवातका विषयमा फैलिन सक्ने भ्रामक सूचना र अफवाहमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार बनाउन अपिल गरेको छ। साथै, मौसम पूर्वानुमानअनुसार आवश्यक सावधानी अपनाई सुरक्षित रहन नागरिकलाई आग्रह गरिएको छ।


प्रतिक्रिया