भारतीय सीमा क्षेत्रमा फहरायो नेपाली झण्डा, स्वदेशमा खुट्टा टेक्दा अपनत्वबोध !


धनगढी – नेपाली सीमा क्षेत्र भारतीयबाट अतिक्रमणको चपेटामा परेका घटना समय–समयमा सुन्न पाइन्छ । अतिक्रमित भूमि फिर्ता गर्न र अतिक्रमण रोक्न सरकारी स्तरबाट समेत खासै पहल भएको देखिँदैन ।

सीमा रक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा रचनात्मक काम गरेर देखाएको छ । सशस्त्र प्रहरीको अग्रसरतामा कैलालीको भारतीय सीमा नाका गौरीफन्टामा नेपाली झण्डा फहराइएको छ ।

अतिक्रमण रोक्ने र भूमि फिर्ता गर्ने कतिपय काम राजनीतिक नेतृत्वको इच्छाशक्तिमा भर पर्छन् । सबै ठाउँमा सशस्त्र प्रहरीले नै हस्तक्षेप गरेर भूमिका निर्वाह गर्न सक्दैन । तर सीमा क्षेत्रका जनतामा राष्ट्रियताको भाव जागृत गर्न र सीमामा नेपाली शान कायम गराउन सशस्त्र प्रहरीले भूमिका खेलिरहेको हुन्छ । सीमामा झण्डा फहराउने सशस्त्रको पछिल्लो काम सराहनीय छ ।

सीमा क्षेत्रमा यसअघि अस्थायी रूपमा गाडिएको झण्डा गत जेठ २३ गते आएको हावाहुरीले उडाएपछि सशस्त्र प्रहरी बल ५३ नम्बर गुल्मको टोलीले शनिबार स्थायी पक्की पिलर बनाएर नयाँ झण्डा राखेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको हातबाट सीमामा झण्डा फहराइएको हो । झण्डा फहराउने कार्यक्रममा भारतीय अधिकारीको समेत सहभागिता रहेको थियो ।

नेपाली सीमा शुरू भएको टाढैबाट थाहा पाउन र नेपालीमा अपनत्वबोध गराउन झण्डा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । दुवै देशका अधिकारीको सहभागितामा झण्डा फहराइएको सशस्त्र प्रहरी बल ५३ नम्बर गुल्म राजस्व तथा भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक देवबहादुर चन्दले बताएका छन् ।

धनगढीमा झण्डा फहराइएपनि सबै सीमा क्षेत्रमा नेपाली झण्डा फहराइएको छैन । सशस्त्र प्रहरी बलले सबै सीमा क्षेत्रमा ठूल्ठूला झण्डा स्थायी रुपमा राख्नुपर्ने सन्देश धनगढीले दिएको छ । सीमा रक्षाका लागि ज्यान दिन समेत तयार हुने नेपालीलाई सीमामा फहराइएका झण्डाले हौसला र प्रेरणा प्रदान गर्छन् । सशस्त्र प्रहरीले यस्ता रचनात्मक काममा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement