वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२६ बस्ने बारा घर भएका ४१ वर्षीय गगनबहादुर स्याङतान, काठमाण्डु महानगरपालिका–९ बस्ने सर्लाही घर भएका २८ वर्षीय निर्जल बस्नेत र काठमाण्डुको टोखा नगरपालिका–५ बस्ने दाङ घर भएका ३२ वर्षीय बलबहादुर चन्द ठकुरी रहेका छन् ।

पक्राउमध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ४ लाख ३० हजार रूपैयाँ, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९० हजार रूपैयाँ र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गगन बहादुरलाई काठमाण्डु महानगरपालिका–३ बाट बिहीबार तथा निर्जललाई ललितपुर महानगरपालिका–३ बाट र बल बहादुरलाई काठमाण्डु महानगरपालिका–४ बाट शुक्रबार पक्राउ गरेको छ ।

पक्राउमध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।