काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवनको भरतपुर महानगरपालिका–१० बस्ने पाल्पा घर भएकी ४८ वर्षीय मेनुका ढुंगाना, काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–९ बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सन्जु तामाङ, टोखा नगरपालिका–८ बस्ने सिन्धुली घर भएकी ३८ वर्षीया सुमित्रा कोईराला, गोकर्णेश्वर नगरपालिका–६ बस्ने सिन्धुली घर भएकी ३७ वर्षीया रञ्जना कोइराला, गोकर्णेश्वरर नगरपालिका–६ बस्ने गोरखा घर भएका ३२ वर्षीय सन्तोष तामाङ र काठमाण्डु महानगरपालिका–३ बस्ने मोरङ घर भएका ५१ वर्षीय धात्री प्रसाद पोख्रेल रहेका छन् ।
पक्राउमध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ, सञ्जुले ग्रिस पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ, सुमित्राले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, रञ्जनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ, सन्तोषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८४ हजार रूपैयाँ र धात्री प्रसादले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोषलाई काठमाण्डु महानगरपालिका–२६ बाट मंगलबार तथा सञ्जु, सुमित्रा, रञ्जना र धात्री प्रसादलाई काठमाण्डु महानगरपालिका–१२ बाट, मेनुकालाई काठमाण्डु महानगरपालिका–११ बाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया