नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी तुलाधर पक्राउ


काठमाण्डु- नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका फरार प्रतिवादी केशव तुलाधर पक्राउ परेका छन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तुलाधरलाई काठमाण्डुको सानो भर्‍याङबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरीले काठमाण्डु–१६, नयाँबजारका ५९ वर्षीय तुलाधरलाई बुधबार पक्राउ गरेको हो । तुलाधरलाई ठगी तथा संगठित अपराधको असुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपितमध्ये नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । काठमाण्डु जिल्ला अदालतमा भएको थुनछेक बहसपछि लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई कारागार पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाण्डुको आदेशलगत्तै पक्राउ परेका सबै १६ जनालाई सुन्धारास्थित जगन्नाथ देवलमा सारिएको छ । यसअघि नेपाल प्रहरीको विभिन्न एकाइमा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई जेल चलान भएका छन्।

त्यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी र रायमाझीका छोरा सन्दीप, बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, रामशरण केसी र हरिभक्त महर्जन पनि जेल चलान भएका हुन् । रायमाझी, खाण, नरेन्द्र, चौधरी, रामशरण, मियाँ, सन्दीप र आङटावालाई भन्द्रबन्दी गृह तथा पाण्डे, रिजाल, इन्द्रजित, दुलाल, भण्डारी, शर्मा, महर्जन र सागरलाई केन्द्रीय कारागारको भवनमा राखिएको छ ।

शरणार्थी प्रकरणमा मुछिएका होटल व्यवसायी टंक गुरुङलाई १० लाख र ललितपुरकी लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा रिहा भएका थिए । ललितपुरका हरिभक्त महर्जनलाई थुनामा पठाउने आदेश हुँदा पत्नी लक्ष्मीसँग भने धरौटी मागिएको थियो ।
शरणार्थी प्रकरणका आरोपित पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरजका साथै अशोक पोख्रेल, धिरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनीता लिम्बू, निरञ्जनकुमार खरेल, राजेश अर्याल र आशिष बुढाथोकी फरार छन् ।

पक्राउ तथा फरार ३० जना अभियुक्तहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसहितमा जेठ १० गते मुद्दा दर्ता गरेको थियो । २२४ पृष्ठको अभियोगपत्र प्रहरीले सरकारी वकिलमार्फत २८ करोड बराबरको बिगो माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement