श्रीमतीको हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ


मोरङ – विराटनगरमा श्रीमती हत्या गरेर फरार व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १३ गते शनिबार राति साढे ९ बजेतिर विराटनगर महानगरपालिका–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीले श्रीमती कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते ३० वर्षीया जितनी सहनीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार घटनामा उपेनले श्रीमती जितनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

घटना भएसँगै फरार रहेका उपेनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रवक्ता दाहालले बताए ।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दा कसूरमा ५ दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement