स्रोत नखुलेको झण्डै ८ लाख रुपैयाँसहित २ महिला पक्राउ


काठमाण्डु – स्रोत नखुलेको करीब ८ लाख रुपैयाँसहित प्रहरीले सप्तरीबाट २ महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–२ बस्ने २७ वर्षीया सीमा भन्ने सागरकुमारी चौधरी र सिरहाको लहान नगरपालिका–१ बस्ने २६ वर्षीया चन्दा चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्वपश्चिम राजमार्गस्थित रुपनी नगरपालिका–१ खाडोपुलमा विशेष सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।

प्रहरीले प्र १–००–४८ प ३०९० नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको डिकीमा झोलाभित्र लुकाइछिपाई राखेको स्रोत नखुलेको ७ लाख ५० हजार र चालक सागर कुमारी चौधरीले लगाएको ज्याकेटको खल्तीबाट ३६ हजार ५०० रुपैयाँ गरी ७ लाख ८६ हजार ५०० रुपैयाँ बरामद गरिएको प्रवक्ता न्यौपानेले बताए ।

रकम सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement