प्रतिबन्धित लागूऔषधसहित ६ जना पक्राउ


काठमाण्डु – देशका विभिन्न स्थानमा प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचौक बस्ने ३२ वर्षीय भरत श्रेष्ठ, २४ वर्षीय युजन थापा र फिदिम नगरपालिका–३ बस्ने २६ वर्षीय डेजिहाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४४० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले भरतको घरतलासी गर्दा लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करीब १ ग्राम ३० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित चिलोरीया गाउँ बस्ने २१ वर्षीय टेकबहादुर घर्ती र कोहलपुर नगरपालिका–१२ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।

गस्तीमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

कैलालीको जोशीपुर गाउँपालिका–६ सिमरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५० मिलिग्रामसहित प्रहरीले बर्दगोरीया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने २० वर्षीय सुनील चौधरीलाई आईतबार बिहान पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement