अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


नेपालगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारीको परिचय दिएर बाँकेका विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा ठगी गर्ने १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले चितवनको भरतपुर महानगरपालिका–१२ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० राँझामा कोठा भाडामा लिएर बस्दै आएका मोहन कोइरालालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका कोइरालाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बताउँदै विभिन्न कार्यालय र संघसंस्थामा गएर सुविधा माग्ने र ठगी गर्ने गरेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निगरानी गर्दै उनलाई पक्राउ गरेको हो ।

नक्कली कर्मचारी कोइरालासँग सोधपुछ गर्न खोज्दा अख्तियार र प्रहरीको टोलीलाई गालीगलौज तथा अपशब्द समेत प्रयोग गरेको डीएसपी डाँगीले बताए ।

कोइरालालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले कोही कसैले उनलाई विभिन्न नाम र बहानामा रकम दिएको भए जानकारी गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement