प्रिन्सिपल हत्याकाण्डका मुख्य योजनाकार महिलासहित ५ जना सार्वजनिक


बारा – कलैया उपमहानगरपालिका–६ मदरसा टोलका रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले मुख्य योजनाकारसहित ५ जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले घटनाका मुख्य योजनाकार कलैया उपमहानगरपालिका–६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाएको छ । उनी बाल एकता स्कूलकी पूर्व लेखापाल समेत हुन् ।

विद्यालयका वरिष्ठ लेखापाल ३४ वर्षीय जामिल अख्तर र कलैया–९ रामपुरका २६ वर्षीय रियाज अंसारी पनि पक्राउ परेका छन् । दुवैले हत्याकाण्डमा सहयोगी भूमिका खेलेको प्रहरीले जनाएको छ ।

प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गर्ने समूहका २ भारतीय नागरिक पनि पक्राउ परेका छन् ।

भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार पनि पक्राउ परेका छन् । दुवै आरोपीले खबर संकलन र आदानप्रदान गर्ने भूमिका निभाएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने ४ जना अझै फरार रहेका छन् ।

फरार रहेकाहरू भारतको मोतिहारीका २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी छन् ।

आरोपीहरूले गत सोमबार दिउँसो पौने १ बजे मदरसा टोलमा प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए । हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसइबी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement