हत्याको योजना बनाउँदै गरेका ५ जना पेस्तोलसहित पक्राउ


बारा – व्यक्ति हत्याको योजना बनाउँदै गरेका ५ जनालाई बारा प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका–११ भगवानपुरस्थित घरमा बिहीबार बिहान बसेर व्यक्ति हत्याको योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–११ भगवानपुरका ६२ वर्षीय रुपलाल पटेलका छोराहरू ४० वर्षीय उपेन्द्र पटेल र २७ वर्षीय धिरेन्द्र पटेल, उपेन्द्रका साला रौतहटको बौधीमाई नगरपालिका–२ का ४४ वर्षीय राजमंगल पटेल र ससुरा ८० वर्षीय सोभा राउत छन् ।

अत्याधुनिक रिभल्वर १, गोली ७ राउण्ड, नलकटुवा पेस्तोल १, गोली १ राउण्ड र केएफ १२ लेखिएको गोली २ राउण्ड बरामद गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

उपेन्द्रले गाउँकै व्यक्तिको गोली हानेर हत्या गर्नका लागि बिहीबार बिहान आफ्नै घरमा केही मान्छे बोलाएर योजना बनाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक रविभुषण यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान ८ बजेतिर पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement