कतार पठाइदिन्छु भनी १ लाख ८६ हजार ठगी गर्ने व्यक्ति पक्राउ


काठमाण्डु – कतार पठाइदिन्छु भनी १ लाख ८६ हजार ठगी गर्ने १ जनालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल काठमाण्डुको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित अनिता मगरातीलाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु भनेर उनले १ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोप छ । कतार पुगेपछि पार्लरमा काम लगाइदिने र मासिक ६० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर उनले पटक–पटक गरी १ लाख ८६ हजार रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ ।

रकम लिइसकेपछि तामाङ सम्पर्कविहीन भएकाले पीडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएकी थिइन् । विभागको अनुरोधमा प्रहरीले तामाङको खोजतलास गर्ने क्रममा बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement