काठमाण्डु – ललितपुर महानगरपालिका–१७ ग्वार्को मिनि मार्केट नजिकै २७ वर्षीया सुमित्रा तामाङको डेरा कोठाबाट चोरिएका सामानसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरू पक्राउ गरेको हो ।
काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–३ घर भई ललितपुरको ग्वार्को मिनि मार्केट नजिकै डेरा गरी बस्ने तामाङको डेरा कोठाबाट मिति मंसिर १८ गते नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र चोरी भएका थिए ।
घटनामा सीसीटीभी फुटेज तथा प्राविधिक विश्लेषण समेतको अनुसन्धानका क्रममा खुल्न आएका चोरी गर्ने व्यक्ति भक्तपुरको ठिमी नगरपालिका–९ घर भई काठमाण्डु–१३ बस्ने ४२ वर्षीय भुवन श्रेष्ठलाई काठमाण्डु–१३ बाफलबाट चोरी भएका विभिन्न सामानसहित प्रहरीले पक्राउ गरेको छ ।
चोरीको बिगो लिने–खाने तथा मास्ने कार्यमा संलग्न चितवनको अयोध्यापुरी नगरपालिका–१२ घर भई काठमाण्डु–१३ बाफलस्थित सुनचाँदीको पसल गरी बस्ने अन्दाजी ५६ वर्षीय राजकुमार विश्वकर्मालाई पक्राउ गरी बरामद सामानहरूसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
आरोपीहरूबाट प्रहरीले चोरीमा प्रयोग भएको बा९६प ५५४४ नम्बरको स्कुटी, कालो लेदरको झोला, स्वरूप परिवर्तन गरिएको सुन ७५ लाल, निलो जिन्स पाइन्ट, हरियो रंगको हुडी, कालो रंगको ज्याकेट, ओप्पो स्क्रिन टच मोबाइल सेट, जिम गर्ने डोरी ५ वटा, बुद्धचित्त जस्तो देखिने गोलो दाना १४ वटा बरामद गरेको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया