कोकिनका क्याप्सुलहरू निलेर पेटमा लुकाएर ल्याएका २ ब्राजिलियन नागरिक पक्राउ


काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिका–१७ ठमेलस्थित होटलबाट अवैध लागूऔषध कोकिन १ किलो ४५५ ग्रामसहित २ जना ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लारिसनलाई ८४० ग्राम र फर्नान्डालाई ५५० ग्राम अवैध लागूऔषध कोकिनसहित पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाई नेपाल ल्याएको खुल्न आएको छ । उनीहरूको पेटमा थप क्याप्सुलहरू हुन सक्ने देखिएकाले तत्काल दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६ वटा प्लाष्टिकले र्‍यासपिङ गरिएका क्याप्सुलभित्र कोकिन ६५ ग्राम बरामद भएको हो ।

बरामद गरिएको अवैध लागूऔषध कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार रूपैयाँ हुन आउने ब्यूरोले जनाएको छ ।

उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डुबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement