वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भनेर ठगी गर्ने ३ जना पक्राउ


काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा देखाएर विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँकेको कोहलपुर नगरपालिका–१० घर भई काठमाण्डुको टोखा बस्ने ३२ वर्षीय जिवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने ३८ वर्षीया नन्द देवी पुन छन् ।

पक्राउ परेकामध्ये केदारले यूके पठाइदिन्छु भन्दै ३५ जना पीडितहरूबाट ६ करोड रूपैयाँ ठगी गरेको, जिवराजले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ६५ हजार रूपैयाँ ठगी गरेको र नन्द देवीले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ६७ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले केदारलाई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–७ बाट, जिवराजलाई काठमाण्डुको नयाँ बसपार्कबाट र नन्द देवीलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement