जातीय विभेद गरेको आरोपमा हल्दिवारीका पूर्व उपाध्यक्ष गिरी पक्राउ


काठमाण्डु – जातीय विभेद गरेको आरोपमा प्रहरीले झापाको हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई पक्राउ गरेको छ ।

पूर्व उपाध्यक्ष गिरीलाई शनिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीविरुद्ध जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जातीय विभेद र दुर्व्यवहारको जाहेरी दिएका थिए । प्रहरीमा प्राप्त जाहेरीका आधारमा शनिबार राति बिर्तामोडबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

पोर्तेललाई टेलिफोन गरेर गिरीले जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।

गत चैत १८ गते हल्दिवारीमा भएको नेकपा एमाले हल्दिबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौज गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।

पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव तथा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement