अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ


बर्दिया – जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध चरेशसहित २ जनालाई पक्राउ गरिएको छ ।

अवैध लागूऔषध चरेश २२ किलो ९५० ग्रामसहित रूकुम पश्चिम सानो भेरी गाउँपालिका–५ बस्ने ३४ वर्षीय बमबहादुर पुन पक्राउ परेका छन् ।

बीओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका पुनलाई लागूपर्दाथसहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जमुनी र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको थप अनुसन्धानका क्रममा घर भाडा लिई बस्ने रूकुम पश्चिम सानोभेरी गाउँपालिका–६ कोतगाउँ घर भएका ३० वर्षीय तिलक पुनको घर तलासी गर्दा लुकाइछिपाई राखेको ४ किलो चरेश फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement