सामुदायिक वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ


काठमाण्डु – सामुदायिक वनमा आगो लगाएको आरोपमा गुल्मीमा २ जना पक्राउ परेका छन् ।

जिल्लाको रेसुंगा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी पक्राउ परेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरले जानकारी दिए ।

आरोपीहरूलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसूरमा मुद्दा चलाउने तयारी गरिएको छ । उनीहरूलाई ३ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने निमित्त वन अधिकृत ठाकुरले बताए । दुवैले सामुदायिक वनमा आगो लगाएको स्वीकार गरेका छन् ।

गत वैशाख ७ गते आगो लगाएर फरार भएका उनीहरूलाई नेटा बजारबाट आईतबार पक्राउ गरिएको थियो ।

कुनै व्यक्तिको लापरवाहीबाट डढेलो लागेको र त्यसले ठूलो क्षति गरेको भन्दै जनचेतना जगाउनु नै मुख्य काम भएको ठाकुरले बताए । आगो लगाएको सुराकी दिने व्यक्तिलाई गोप्य रूपमा पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement