नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ


विराटनगर – मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राईले शिशु जन्माएर हत्या गरी फ्यालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

अस्मिताले छोरा जन्माएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र हत्या गरेर ढुंगाको चेपमा फ्यालेको बस्नेतले बताए । बाँसघरीबाट १० मिटरजति पश्चिममा रहेको ढुंगाको चेपबाट सोमबार साँझ कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव बरामद भएको जानकारी उनले दिए ।

शिशुको हत्या गरेर घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए । सोधपुछ गर्ने क्रममा शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान थालिएको थियो ।

स्वास्थ्य अवस्था कमजोर रहेको पाइएपछि उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको प्रहरीले जनाएको छ । अस्मिताविरुद्ध परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय उर्लाबारीमा मंगलबार किटानी जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement