अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ


काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतज्यन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४५ ट्याब्लेटसहित बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने २० वर्षीय मोहमद सहनवाजलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
महोत्तरीको पिपरा गाउँपालिका–१ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन ४८९ एम्पुल, डाइजेपाम ४८८ एम्पुल र टयालगेसिस ४९१ पिससहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको मधुवनी रामपुर बिरिज बस्ने ३० वर्षीय महमद गुल्जार उर्फ चुलाई र पर्साको मटिहानी नगरपालिका–४ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको प्रहरी टोलीले मटिहानीबाट जनकपुरतर्फ जाँदै गरेको ज१ह २७३४ नम्बरको ट्याम्पुलाई जाँच गर्ने क्रममा लागूऔषध फेला पारी ट्याम्पु चालक किशोर र ट्याम्पुमा सवार महमदलाई पक्राउ गरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–३ फिसलिङबाट अवैध लागूऔषध गाँजा करीब १६ किलोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–५ बस्ने १९ वर्षीय जीवन लामा र २२ वर्षीय प्रकाश तामाङ छन् ।
अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०३–००४ प २९१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement