अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ


काठमाण्डु – मकवानपुर र सुनसरी जिल्लाबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करीब ५ किलोसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–१ सानो भावर बस्ने १९ वर्षीय बिजय तामाङ र रौतहटको बृन्दावन नगरपालिका–१ बस्ने ३५ वर्षीय धर्मेन्द्र ठाकुर रहेका छन् ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुकाबाट अवैध लागूऔषध गाँजा करीब ४ किलो ५०० ग्रामसहित धनकुटाको साँगुरीगढी गाउँपालिका–८ बस्ने २४ वर्षीय दिपक मुडेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को१ज २१७८ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरोमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement