युरोप पठाउने भन्दै एक हजार जनाभन्दा बढीलाई ठग्ने कन्सल्टेन्सीका संचालकसहित ६ जना पक्राउ

युरोप पठाउने भन्दै एक हजार जनाभन्दा बढीलाई ठग्ने कन्सल्टेन्सीका संचालकसहित ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विदेश पठाइदिने प्रलोभनमा पारि एक हजार जनाभन्दा बढी मानिसहरुलाई ठगी गर्ने कन्सल्टेन्सीका संचालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा पठाइदिने भन्दै ठगी गर्ने ६ जनालाई बुधबार काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको विरेन्दनगर–९ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २७ वर्षका रेशम रावल, सोहि ठाउँका २४ वर्षका प्रेमबहादर रावल, काभ्रेपलाञ्चोक तिमाल–९ स्थायी घर भई धुम्बाराही बस्ने ३० वर्षका सुरेन्द्र तामाङ रहेका छन् ।

यस्तै मोरङको शनिश्चरे–१० स्थायी घर भई अहिले नरेफाट बस्दै आएका ३५ वर्षका सन्तविर घिमिरे, डडेल्धुराको अमगरगडी–९ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २६ वर्षका राजेश साउँद र अछामको रामारोशन–१ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २५ वर्षका टंकराज खनाल रहेका छन् ।

उनीहरुले संचालन गरेको युनिक कन्सल्ट एण्ड कन्सल्टेन्सी, वर्ल्डवाइड कन्सल्ट एण्ड कन्सल्टेन्सी लगायत नाम करेका ४ वटा कन्सल्टेन्सीबाट रोजगारी तथा भिजिट भिसामा ती देश पठाउने भनि सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाण पत्र सबै सक्कलै कागजातहरू लिई रकम उठाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले कन्सल्टेन्सीमा खानतलासी गर्दा राहदानी थान २२९ सहितका कागजात भेटिएको छ भने पक्राउ पेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । उनीहरुले २ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।