कैलालीमा ८ लाख ४० हजारका आइफोनसहित १ जना पक्राउ

कैलालीमा ८ लाख ४० हजारका आइफोनसहित १ जना पक्राउ

File Photo

अत्तरिया – प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट ८ लाख ४० हजार रुपैयाँ मूल्य बराबरका आइफोनसहित १ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरी रहेका छन् ।

चौधरीलाई सोमबार धनगढी विमानस्थलको दक्षिणतर्फका यात्रु प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेशद्वार नजिकको एक्सरे मशिनमा जाँचका क्रममा आइफोनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

चौधरीले काठमाण्डु पठाउने भनि कार्टुनमा प्याक गरी ल्याएका एप्पल कम्पनीका २१ वटा आइफोन बरामद गरिएको उनले जानकारी दिए ।