नक्कली शैक्षिक प्रमाणपत्रसहित शिक्षक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रसहित शिक्षक पक्राउ


काठमाण्डु – प्रहरीले काभ्रेबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित १ शिक्षकलाई पक्राउ गरेको छ ।

काठमाण्डु अपराध महाशाखाको टोलीले धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरबाट ४८ वर्षीय विकास श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट एनसीसीबाट जारी भएको स्नातकोत्तर तहको प्रमाणपत्र, टीयूबाट जारी भएको स्नातकोत्तर तहको चारित्रिक प्रमाणपत्र, त्रिभुवन विश्वविद्यालयबाट जारी भएको व्यवसाय अध्ययन शास्त्रीको प्रमाणपत्र, नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरबाट जारी भएको अस्थायी अध्यापन अनुमतिपत्र, टीयूबाट जारी भएको व्यवस्थापन संकायको स्नातक तहको प्रमाणपत्र सबै जफत गरिएको प्रहरीले जनाएको छ ।