नेपालगन्ज- प्रहरीले बाँकेमा एक महिनाको अवधिमा ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।
उनका अनुसार पक्राउ गरिएका फरार प्रतिवादीबाट एक करोड ५९ लाख २३ हजार २७४ जरिवानासमेत असुल गरिने भएको छ । प्रतिवादीबाट १४ वर्ष एकमहिना तीन दिनको कैद भुक्तानी गराइने राठौरको भनाइ छ । अदालतले सजाय तोके पनि लामो समयदेखि फरार रहेका व्यक्तिलाई नीतिअनुसार पक्राउ गरी अदालतमा बुझाइएको उनले बताए।
फरारलाई पक्राउ गर्ने अभियानअन्तर्गत हरेक महिनामा २५ देखि ८० जना हाराहारीमा फरारलाई पक्राउ गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अदालतबाट फैसला भएर सजाय तथा जरिवाना पाएकाले अझै पनि आफैँ अदालतसमक्ष पुगेर अदालतको फैसलाको सम्मान नगरेको हुँदा उनीहरूको खोजी भइरहेको छ ।
फरार प्रतिवादी खोजीका लागि विशेष टोली नै गठन गरेर उनीहरूको खोजी कार्य नियमित रुपमा भइरहेको बताए । जेठ महिनामा कुल १५९ वटा मुद्दा दर्ता गरिएकामा जघन्य अपराधका १४, गम्भीर अपराधका ५२ र बाँकी सामान्य अपराधका मुद्दा रहेका थिए ।
यीमध्ये महिला तथा बालबालिकासम्बन्धी १३ र ज्येष्ठ नागरिकसम्बन्धी १४ तथा आर्थिक अपराधसम्बन्धी ३४ मुद्दा रहेका छन् ।




प्रतिक्रिया