चैत मसान्तभित्र वाफिया र धितोपत्रसम्बन्धी विधेयक प्रतिनिधिसभामा पुग्नेछ : अर्थमन्त्री पौडेल

चैत मसान्तभित्र वाफिया र धितोपत्रसम्बन्धी विधेयक प्रतिनिधिसभामा पुग्नेछ : अर्थमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया र धितोपत्रसम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने बताए ।

“भन्सार विधेयकसँगै वाफिया र धितोपत्रसम्बन्धी विधेयकमाथिको छलफल चाँडो सकेर चैत मसान्तभित्र समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पुग्नेछ भन्ने अपेक्षा गरेको छु,” उनले भने ।

कानुन निर्माणका काम सुस्त भएको भनेर समिति र सदनको प्रभावकारिता माथि जनस्तरबाटसमेत आलोचना हुने गरेको उनले उल्लेख गरे । “विधि निर्माणको काम सुस्त भयो भन्ने आलोचना आउने गरेका छन् । यसमा सरकारको ध्यानाकर्षण भएको छ । राष्ट्रिय आवश्यकतासमेत हेरेर बढी प्राथमिकताका कानुन निर्माणमा शीघ्रता दिनुपर्नेछ,” अर्थमन्त्री पौडेलले भने ।

अर्थ समितिको आजको बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन माथि छलफल भएको छ ।