अर्थमन्त्री कार्की र उनका भाई मिलेर यस्तोसम्म गरे अर्थमन्त्रालयमा, बजेट महाशाखा प्रमुख हटाइए


काठमाडौं – अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख सहसचिव केवलप्रसाद भण्डारीलाई हटाइएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियम विपरीत काम गर्न दबाव दिएपछि भण्डारीले गर्न नमिल्ने भन्दै रोकेपछि उनको सरुवा भएको हो ।

 

अर्थमन्त्री कार्कीले पछिल्लो समय पदको दुरुपोग गर्दै काम गर्न भण्डारीलाई दबाव दिदै आएका थिए । अर्थमन्त्री कार्की र उनका भाई लोकेन्द्र कार्कीले विभिन्न ब्यापारीक समूहको दबावमा बजेट निकाशा गर्न भण्डारीलाई दबाव दिदै आएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

 

कार्कीका भाई लोकेन्द्र बजेट मिलाएर कमिशन खाने धन्दामा सक्रिय रहेको अर्थमन्त्रालयका कर्मचारी बतांछन् । उनी सेना,प्रहरी र नेपाल टेलिकमका ठेक्का–पट्टामा सक्रिय छन् । यसअघी अर्थमन्त्री कार्की र उनका भाई लोकेन्द्रले पोखरामा रहेको फुलबारी रिसोर्टको कर छुट मिनाहाको लागी दबाव दिएको समाचार समेत सार्वजनिक भएको थियो ।

 

‘उहाले अनियन्त्रित रुपमा विभिन्न शीर्षकमा बजेट निकासा गर्न दबाव दिनुभएको थियो,तर भण्डारी सरले त्यो मान्नुभएन, उहाले गैरकानुनी रुपमा निकासा गर्न लागेको रकम रोक्न खोज्दा उहाको सरुवा गर्नुभयो ।’ भण्डारी निकट एक उपसचिवले काठमाडौंपाटीसंग भने ।

 

सरकारले जांदा जादैं नियमविपरीत रकम बाड्ने र विभिन्न स्वार्थी समुहलाई फाइदा पुग्ने गरी बजेट उपलब्ध गराउने काम गरेको भन्दै एमाले र माओवादी केन्द्रले त्यसको विरोध गरिरहेका बेला भण्डारीको सरुवा भएको हो । अर्थमन्त्री कार्कीले गैरकानुनी काम गर्न दबाव दिएपनि भण्डारीले उनको निर्देशन अवज्ञा गरेको भन्दै उनको सरुवा भएको अर्थमन्त्रालयका कर्मचारी बतांउछन् ।  

 

अर्थमन्त्री कार्कीका भाई लोकेन्द्रले पछिल्लो समय दाईमार्फत बजेटका लागी दर्जनौ फाइलमा चलखेल गरिरहेको स्रोतको दाबी छ । अर्थमन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिने बजेट महाशाखा प्रमुख रहेका भण्डारीले मन्त्री र स्वार्थी समुहका दर्जनौ फाइल रोकेर राखेका थिए । उनले सरकार परिवर्तन हुने संघारमा रहेको बेला नितिगत निर्णय गर्न नहुने भनाई मन्त्री समक्ष राख्दै आएका थिए ।

 

अर्थमन्त्री कार्कीले भण्डारीको ठाउमा अन्तर सरकारी वित्त व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव निर्मल अधिकारीलाई ल्याएका छन् भने उनको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा सरुवा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement