अर्थमन्त्रीप्रती सत्तारुढ दलकै सांसद असन्तुष्ट


काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले आफ्नै दलको सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनीहरूले चुनावी घोषणापत्र र नीति तथा कार्यक्रमलाई बजेटले बिर्सिएको भन्दै अर्थमन्त्रीको आलोचना गरे ।

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि भएको छलफलमा भाग लिँदै सत्तारूढ नेकपाका सांसदहरू तीव्र आलोचनामा उत्रिएपछि शुक्रबारका लागि निर्धारित बैठक रोकेर शनिबार संसदीय दलको बैठक बोलाइएको थियो । मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लगेको भन्दै सत्तारूढ सांसदहरूले संसद् बैठकमै तल्लोस्तरसम्मै पुगेर सरकारको आलोचना गरेका थिए । संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सांसदहरूलाई सम्झाउने प्रयास गरेका थिए ।

बैठकमा नेकपा सचिवालय सदस्यसमेत रहेका नेता भीम रावलले बजेटमा सरकार चुकेको धारणा राखे । उनले बजेट सन्तुलित नभएको, ठूला आयोजना सुरु गर्न आँट नगरेको आरोप लगाए । ‘बजेट मनपरी ढंगले वितरण गरिएको मात्रै छैन,’ उनले भने, ‘संविधान र संघीयताको मर्मअनुसार पनि आएन ।’ पूर्वमन्त्रीसमेत रहेका नेता रावलले पश्चिम सेती आयोजना निर्माणबाट सरकार पछि हटेकोमा असन्तुष्टि जनाउँदै यसबारे सरकारको धारणा मागे । ‘पश्चिम सेती आयोजना नेपाल सरकारले नै बनाउने भनेको हो, तर एक रुपैयाँ पनि छुट्टयाइएन,’ उनको प्रश्न थियो, ‘यो आयोजना तुहाउने काम कसले गर्‍यो ? सरकारको प्राथमिकतामा किन परेन ?’

स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि बजेट सन्तुलित नभएको भन्दै आलोचना गरे । ‘चीन र भारत जोड्ने सबैभन्दा छोटो तमोर करिडर परेन, मन्त्रीहरूले मनपरी रूपमा निर्वाचन क्षेत्र र टोलकेन्द्रित भएर बजेट बाँड्नुभएको छ,’ उनले भनेका थिए । रातो किताबमा ताप्लेजुङ उल्लेख नभएको, मदन भण्डारी राजमार्गसहित केन्द्रीय सरकारका सडक आयोजना नपरेकोमा भट्टराईको असन्तुष्टि थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement