काठमाण्डु-नेपाली कांग्रेसले दुई राजनीतिक दलबीच भएको सहमतिको ठोस आधार भएको दाबी गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राखेपछि छलफलमा भाग लिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘दुई दलबीचको गठबन्धन देशलाई ठिक ढंगले अगाडि लैजान सैद्धान्तिक र व्यवहारिक आधार हो ।’
लेखकले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न एमाले र कांग्रेस बीच सहमति भएको संसदमा जानकारी गराए । उनले संसदमा प्रतिपक्ष कमजोर नहुने विश्वास व्यक्त गरे ।
लेखकले प्रधानमन्त्रीले पीडामा भएकाले थप टिप्पणी गरेर पीडा नदिने स्पष्ट पारे ।
आज संसदमा विश्वासको मत राख्दा राखेको आक्रोशले प्रधानमन्त्री नै प्रमुख प्रतिपक्ष दलको नेता हुने भएकाले लोकतन्त्र कमजोर नहुने विश्वास आफूलाई भएको उनले बताए । राष्ट्रका विकास र गतिविधिलाई चलायमान बनाउन दुई दलबीच सहमति भएको उनको भनाइ छ ।
लेखकले दाहालले प्रधानमन्त्री पदमा पाँचौं पटक विश्वासको मत माग्नु परेको भन्दै अझै ४० महिनामा कति पटक विश्वासको मत माग्ने हो भन्दै प्रश्न गरे । लेखकले देशमा राजनीतिक स्थिरता कायम गर्न नयाँ गठबन्धन बनाउनुपरेको धारणा राखे ।
लेखकले कांग्रेस जन्मदिनदेखि नै लोकतन्त्रका लागि लडेकाले अर्ति उपदेश दिनु नपर्ने पनि बताए ।
‘नेपाली कांग्रेस जीवनको जन्मदिनदेखि आजसम्म लोकतन्त्रका लागि लडेको पार्टी हो । लोकतान्त्रिक इतिहासमा बडे बडे लोकतन्त्रविरोधीलाई ल्याएको इतिहास बनाएको पार्टी हो,’ उनले भने, ‘कल्पना र अनुमानका भाष्य निर्माण गर्ने काम बन्द गर्नुपर्छ । यो संविधान हामीले ल्याएको हो। यसको रक्षा गर्छौँ । यसका लागि अर्ति उपदेश आवश्यक छैन ।’
यसअघि बोलेका प्रधानमन्त्री दाहालले कांग्रेस एमालेको सहमति पश्चगमनतिर गएको आरोप लगाएका थिए । त्यसको प्रतिवाद गर्दै लेखकले यस्तो बताएका हुन् ।
संविधान संशोधन गर्ने कुरा दुई दलले मात्रै चाहेर नहुने पनि लेखकले बताए । ‘सबै दलहरूलाई समावेश गरेर सहमतिका आधारमा संविधान संशोधन गर्न भनिएको हो । पहल त कसैले गर्नुपर्ला नि ? हो त्यो पहल हामीले गरेका हौं । त्यसको अर्थ अरु दललाई निषेध गर्ने नल्याउने एकांकी संशोधन गर्ने भनेको होइन,’ उनले भने ।
लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिमाथि कुनै प्रतिवाद नगर्ने पनि बताए ।
प्रतिक्रिया