आरुबोटे हत्याकाण्ड : सूक्ष्म अनुसन्धानमा प्रहरी


काठमाडौं – सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्याको घट्नाको प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले स्थलगत अनुसन्धान जारी राखेको हो ।

सुराकी लिन घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको छ । अनुसन्धानमा खटिएका प्रहरी कहिले घटनास्थल पुग्छन् त कहिले रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयमा आएर घटनास्थलमा प्राप्त सामग्री, कल डिटेल्सलगायका विषयमा अध्ययन गरिरहेका छन् । प्रहरीले अहिले साना‍-साना विषय पनि केलाइरहेको बताइएको छ ।

घटना भएको अर्को दिन मंगलबार तालिमप्राप्त कुकुर घटनास्थलमा ल्याइएको थियो । घट्ना स्थललाई सिल गर्ने, विवरण तथा अन्य सामग्री संकलन गर्ने, सशंकित व्यक्तिको पहिचान गर्ने कामपछि प्राप्त विवरणको विश्लेषण भइरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक उमा चतुर्वेदी नेतृत्वको एउटा टोली घट्नास्थलमा प्राप्त प्रमाण लिएर फर्किए पनि सीआइबिकै अर्को टोलीको नेतृत्वले स्थलगत अनुसन्धान जारी राखेको छ । ‘थप प्रमाण जुटाउन अनुसन्धान जारी रहन्छ’ प्रहरी नायब उपरीक्षक कुँवरले भने, ‘घट्नामा संलग्नको पहिचानका लागि प्राप्त प्रमाणलाई विधिविज्ञान प्रयोगशालामा अनुसन्धान हुनेछ ।’

मिक्लाजुङ–३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको बिभत्स हत्यामा बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिमलाई प्रहरीले मुख्य अभियुक्त ठह¥याएको छ । माखिमको शव मङ्गलबार उनको घर नजिकै मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दिनमा फेला परेको थियो ।

माखिमको शव फेला परेको स्थानबाट करीब १० मिनेटको पैदल दुरीमा रहेको मिक्लाजुङ गाउँपालिका–८ को मालबाँसे जङ्गलमा रगत लत्पतिएको दापसहितको एक थान खुकुरी, रगत लत्पतिएका तीन थान टिसर्ट, एक थान झोला, एक जोर चप्पल र एक थान हाफपाइन्ट फेला परेको थियो ।

थप अनुसन्धानका ती सामग्री प्रहरी विधि विज्ञान प्रयोगशालामा पु¥याइने भएको छ । ‘यी सामग्रीबाट सामूहिक हत्यामा संलग्नबारे केही प्रमाण जुट्नेछ प्रहरी नायब उपरीक्षक कुँवरले भने, ‘बाँकी प्रमाणका लागि स्थलगत अनुसन्धान, सोधपुछ जारी रहनेछ ।’

शव परीक्षण तथा फरेन्सी टेस्ट रिपोर्ट आएपछि थप विषय केलाउने बताइएको छ । सशंकित व्यक्तिका आफन्तसँग कुराकानी, हत्या गरिएका परिवारका आफन्त तथा छिमेकी लगायसँग प्रहरीले सोधपुछ गरीरहेको छ ।
ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदीसहितको तीन जनाको टोली, प्रहरीनिरीक्षक नेतृत्वमा १ नम्बर प्रदेश कार्यालयको विशेष टोली र डिएसपी कुँवरको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानमा खटिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट हत्यामा ३१ वर्षीय मानबहादुर माखिमको सलग्नता रहेको निचोड नजिक प्रहरी पुगेको छ । घटनाको अर्को दिन मंगलबार माखिम झुन्डिएको अवस्थामा फेला परेका थिए । माखिम हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ थिए । घटनामा अरुको पनि संलग्नता थियो/ थिएन भन्ने कोणबाट पनि अनुसन्धान जारी रहेको अधिकारीले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानबाट हत्यामा माखिमको संलग्नता रहेको अनुमानमा पुगिएको पाँचथरका प्रहरी प्रमुख कुँवरले बताए । ‘हत्यामा अरुको पनि सहयोग तथा संलग्नता थियो/थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं । पोस्टमार्टम र अन्य रिर्पार्ट आउन बाँकी छ । सबै विवरण प्राप्त भएपछि निचोडमा पुगिने छ । सोमबार राति माखिमले प्रयोग गरेको मोबाइल फोनको लोकेसन घटनास्थल आसपास देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement