मोदी विरुद्धको विपक्षी गठबन्धनबाट अरविन्द केजरीवाल बन्लान् प्रधानमन्त्री उम्मेदवार ?


काठमाण्डु – भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा विपक्षी दलहरू एकजुट भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) प्रधानमन्त्री नरेन्द्र मोदीलाई सजिलै पराजित गर्न नसकिने देखेर विपक्षी दलहरू पूर्वाभ्यास गरिरहेका छन् ।

इन्डियन नेसनल डेभलपमेन्ट इङ्क्युसिभ एलायन्स (आईएनडीआईए) गठबन्धनका नेताहरू मुम्बईमा बैठक बसिरहेका छन् । बैठकमा विपक्षी दलको नेता अर्थात् आगामी चुनावमा प्रधानमन्त्रीका उम्मेदवार र सिट बाँडफाँटबारे छलफल भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विपक्षी गठबन्धनमा भावी प्रधानमन्त्रीका लागि थुप्रै नेताको नाम चर्चामा छ । जसमध्ये दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको नाम समेत चर्चामा आएको छ । भारतमा स्थापित नयाँ राजनीतिक दलका रूपमा केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले दिल्ली र पञ्जाबमा सरकार चलाइरहेको छ ।

पार्टीले देशभर प्रभाव बढाउँदै गएका बेला आपका प्रवक्ताले प्रधानमन्त्रीमा केजरीवालको दाबी रहेको बताएका छन् । समाजवादी पार्टी (सपा) प्रवक्ताले अखिलेश यादव र शिवसेना सांसद प्रियंका चतुर्वेदीले उद्धव ठाकरे प्रधानमन्त्री पदका लागि योग्य रहेका बताएका छन् ।

यसअघि नै भारतीय कांग्रेस नेता राहुल गान्धी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र बिहारका मुख्यमन्त्री नीतीश कुमारको नाम प्रधानमन्त्रीका लागि चर्चामा छ ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले आफ्नो पार्टीलाई सत्ता र प्रधानमन्त्री पदमा कुनै रुचि नभएको दाबी गर्दै मोदी सत्ता ढाल्नु मुख्य उद्देश्य रहेको बताएका छन् ।

यी आकांक्षीमध्ये गठबन्धन कसलाई अगाडि सारेर चुनावी मैदानमा जान्छ ? हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement