एक युवा जसले पशुपति आर्यघाटमा ‘बर्थडे’ मनाए (भिडियोसहित)


काठमाडौं – पशुपति आर्यघाटको चिताबाट धुँवाको मुस्लो उडिरहेको थियो । टोकरीमा रक्सीको बोतल र केक लिएर केही माथि डिलमा झुस्स दारी पालेका एक युवक आए । केही आर्दशका कुरा गरे । अनि केक निकाले । केकमाथि बत्ति बाले ।

अनि सुरु गरे– ह्याप्पी बर्थडे टु मी ! उनले जलिरहेको चितातर्फ फर्किए अनि केक खान थाले । केक खाँदै उनले एक घुड्की लगाए । अनि फेरी जलिरहेकाे चितातर्फ हेरेर मुस्कुराए । गत मंसिर ८ गते उनले पशुपति आर्यघाटमा जन्म दिन मनाए ।

भिडियोमा देख्नेलाई लाग्छ यो मान्छे बौलायो तर, उनी कुनै मानसिक रोगी होइनन् । त्यसो भए को हुन् त उनी ? उनी थिए देवेन्द्र बल्लु । बब्लु थिएटर आर्टिस्टसँगै गायक पनि हुन् । उनकाे यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बागलुङको धम्जाका बब्लूले पशुपति आर्यघाटमा गएर सेलेब्रेसन गरेको सम्झना राख्न भाइलाई लगेर मैले जे–जे गर्छु त्यो चुपचाप खिच् भनेका थिए ।

उनले ‘कसरी कसरी’ र ‘बुढाबुढी’ बोलको गीत बजारमा ल्याएका छन् । दुवैमा शब्द तथा संगीत आफैंले दिएका छन् । उनले तीज गीत ‘के छ ओई’ पनि निर्देशन गरेका छन् ।

तलका यी कुनै कथित भनाई होइन । यो एक जना युवाले पशुपति आर्यघाटमा जन्म दिन मनाउँदै गर्दा बोलेको वाक्य हो ।
उनले जन्म दिन मनाउँदै भिडियोमा यसो भनेका छन्ः

मान्छे जीवनमा एकपटक जन्मन्छ या हरेक वर्ष ?
या प्रत्येक वर्ष जन्मेको दिनलाई स्मरणमात्रै गर्छ

मान्छे जीवनमा एकपटक मर्छ या प्रत्येक वर्ष ?
जीवन एउटा खण्ड हो या खण्डखण्ड हो ?

मानिसले नै बनाएको समयसीमा हेर्ने हो भने त जीवन खण्डखण्ड नै हो ।
त्यस्तै आजबाट मेरो एक खण्ड सकियो,फेरि अर्को एक वर्ष सकियो ।
अझ भनौं अहिलेसम्म बाँचेको एक जीवन सकियो ।

हिजोमात्र मैले,मैले बाँचेको वर्षको अन्तिम हाँसो हाँसें । अन्तिम शब्द बोलें,अन्तिम सपना देखें । मेरा आफन्तहरूसँग अन्तिम माया साटें ।
आजबाट मैले फेरि त्यही सपना कहाँ देख्न पाउँछु र ? त्यही हाँसो कहाँ हाँस्न पाउँछु र ? त्यही माया कहाँ साट्न पाउँछु र ?

त्यही उमेर कहाँ बाँच्न पाउँछु र ?
थाहा दिएजस्तो गरी,थाहा नदिएजस्तो गरी

केही पूरा भएजस्तो गरी,केही अधुरा भएजस्तो गरी
फेरि मेरो एक वर्ष बितेछ

केही कुरा बित्नु,हराउनु,छुट्नु या त्यही अवस्थामा फर्काउन नसक्नु
के मृत्यु हुनु या मर्नु होइन र ?

धेरै कुरा दिएर,धेरै कुरा भताभुंग छोडेर
रहरैरहरमा बितेको मेरो यो वर्षलाई भावपूर्ण श्रद्धाञ्जलि

खैर,आजबाट मेरो अर्को खण्ड शुरू भएको छ
म जन्मेको र अहिलेसम्म बाँचेकोमा मलाई अनकौं बधाई

भएका केही थान सपना,रहर र आकांक्षाहरू पूरा गर्न सकौं
अझ धेरै वर्ष बाँच्न सकौं

आफू र आफन्तलाई खुशी बनाउन सकौं
ह्याप्पी बर्थ डे टु मी !

प्रतिक्रिया दिनुहोस
Advertisement