काठमाण्डु – सेवानिवृत्त सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याललाई फौजी परम्पराअनुसार शुक्रबार बिदाइ गरिएको छ ।
सेवानिवृत्त आईजीपी अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा अर्याललाई नवनियुक्त आईजीपी नारायणदत्त पौडेलले मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका छन् ।
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललाई संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले फुलमालासहित हार्दिक बिदाइ गरिन् । सोही अवसरमा आईजीपी अर्यालले नवनियुक्त आईजीपी पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी बरबुझारथ समेत गरे ।
समारोहमा अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्वपूर्ण उपलब्धि तथा गौरव महसूस गरेको बताउँदै संगठनलाई परिवारको रूपमा लिएर अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको समेत बताए ।

संगठन सुधार केवल एक प्रमुखको कार्यकालमा सुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताउँदै महानिरीक्षक अर्यालले राष्ट्र, संगठन र जनताको सुरक्षासँगै मातहत सशस्त्र प्रहरी कर्मचारीहरुको हितलाई सर्वोपरी राखी काम गरेको उल्लेख गरे ।
उनले सशस्त्र प्रहरी बल नेपालको बर्दीले सज्जनलाई भर र अपराधीलाई डरको प्रतिकको रूपमा विकास गर्दै लैजानुपर्ने बताउँदै आफ्नो सेवाकालको दौरानमा साथ, सहयोग र उर्जा दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई हार्दिक धन्यवाद समेत दिए ।
समारोहमा नवनियुक्त आईजीपी पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश हुँदैन, यो केवल एउटा अध्यायको समाप्ति र अर्को जिम्मेवार यात्राको सुरुवात रहेको बताउँदै सेवा निवृत्त हुन लागेका अर्याललाई आगामी जीवन सुखद, स्वस्थ, सम्मानित र सफलताको शुभकामनासहित उनको अनुभव, मार्गदर्शन र दृष्टिकोण आगामी दिनहरूमा पनि संगठन लागि मार्गनिर्देशन बनिरहने विश्वास व्यक्त गरे ।
उनले संगठनमा स्थापित मूल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरी बल नेपाललाई आधुनिक, सक्षम, व्यावसायिक र जनउत्तरदायी संगठनको रूपमा निरन्तर अघि बढाउने बताउँदै संगठन विकास, सुदृढीकरण र संस्थागत सबलीकरणका लागि अघि सारिएका सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई दीर्घकालिन मार्गदर्शनका रूपमा स्थापित गरी थप परिस्कृत र शुद्धीकरण गर्दै लैजाने समेत उल्लेख गरे ।

संगठनलाई राज्य र जनताप्रति विश्वास योग्य बनाउन सशस्त्र प्रहरी कर्मचारीहरूको योगदान महत्त्वपूर्ण हुने बताउँदै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भने, ‘उच्च नैतिक आचरण र दृढताले एउटा सशक्त सन्देश दिन्छ, जहाँ आचरण शुद्ध हुन्छ, त्यहाँ निर्णय स्पष्ट हुन्छ, जहाँ मन दृढ हुन्छ त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ ।’
आईजीपी राजु अर्यालको सक्षिंप्त जीवनी तथा विशेष योगदानको बायोग्राफी समेत प्रदर्शन गरिएको समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरूको समेत उपस्थिति थियो ।




प्रतिक्रिया