काठमाण्डु – भारतको ओडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको मृत्यु र नेपालीमाथि भएको दुर्व्यवहारबारे परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिशाका हायर एजुकेसन मन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन वार्ता गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत वार्ताबारे जानकारी दिँदै मन्त्री राणाले घटनाका दोषीमाथि कारवाही गर्न र नेपाली विद्यार्थीको सुरक्षा र पठनपाठनको वातावरण बनाउन ओडिशा सरकारले प्रतिबद्धता जनाएको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कीट विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा हामीले निरन्तर फलोअप गरिरहेका छौं । आज पनि मैले ओडिसाका हायर एजुकेसन मिनिस्टर सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेकी छु ।’
मन्त्री सुरजसँगको कुराकानीमा लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको उनले बताइन् । ‘उहाँले घटनालाई ओडिशा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी मलाई गराउनुभयो । साथै उहाँले यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको बताउनभुयो,’ उनले भनिन् ।
मन्त्री सुरजले कलेजमा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानूनी कारबाही अघि बढाइएको जानकारी पनि दिएका मन्त्री राणाले बताइन् । उनले भनिन्, ‘कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्त्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।’
प्रतिक्रिया