महिला सशक्तिकरणमा अझै चुनौती छन् : परराष्ट्रमन्त्री

महिला सशक्तिकरणमा अझै चुनौती छन् : परराष्ट्रमन्त्री


काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तिकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरु पनि रहेको बताएकी छिन् ।

युएन वुमनद्वारा आज राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले ३० बर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरुको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैंगिक समानता तथा महिला सशक्तिकरणका क्षेत्रमा धेरै काम भएका बताएकी हुन् ।

मन्त्री राणाले भनिन् “मलाई लाग्छ नेपालका महिलाहरुले अहिले प्राप्त गरेका संवैधानिक लगायतका अधिकारहरुको बिजारोपण ३० बर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो । सो चौथो विश्व महिला सम्मेलनले लैंगिक समानता, महिला सशक्तिकरण, महिला विरुद्धका हिंसाको उन्मूलनलगायतका १२ ओटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो ।”

बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै त्यसयता नेपालका महिलाहरुले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन् स्वास्थ्यदेखि धेरै अधिकारहरु महिलाले संवैधानिक रुपमै प्राप्त गरेका उनले बताइन् ।

सम्मेलनपछिका ३० बर्षमा महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि अझै धेरै काम गर्न भने बाँकी रहेको मन्त्री डा राणाको भनाइ थियो ।

राणाले भनिन् “महिला र यहाँका बालिकाहरूले आर्थिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा समान पहुँच आदि क्षेत्रमा अहिले पनि चुनौतीहरूको सामना गर्नु परिरहेको छ । यसबारेमा पनि सोच्नुपर्छ र तिनको समाधानका लागि सरकार र नागरिक समाज एकताबद्ध भइ अघि बढ्नुपर्छ ।”