म होइन, शेरबहादुर नै प्रधानमन्त्री : आरजु राणा

म होइन, शेरबहादुर नै प्रधानमन्त्री : आरजु राणा


काठमाण्डु-नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नभएको बताएकी छन् ।

नेपाल प्रेस युनियनले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राणाले कांग्रेसमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यस लाइनमा नभएको बताइन् ।

‘बाहिर मेरोबारे जेजस्तो कुराभए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला ।’

उनले दुई ठूला दल मिलेर सरकार बन्नु कुनै अनौठो नभएको पनि बताइन् । ‘देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ, सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको स्थिर सरकार बनेको हो,’ उनले भनिन् ।

मन्त्री राणाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताइन् । तर,संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उनले स्पष्ट पारिन् ।

परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको कुरा आफूलाई लागेको मन्त्री राणाको भनाइ थियो ।

‘सबै देश नेपालप्रति सकारात्मक छन्, उनले भनिन्, ‘तर विगतमा हाम्रोतर्फबाट केही कमजोरी भएका रहेछन् । अब ती कमजोरीलाई सुधार गर्नतर्फ लाग्छौँ ।’