काठमाण्डु-भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले आज उच्च्स्तरीय भेटवार्ता गर्दैछिन् ।
परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । यस्तै मन्त्री राणाले आजै भारतीय समकक्षी डा. एस जयशंकरसँग पनि भेटवार्ता गर्दैछिन् ,
मन्त्री राणा भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा हिजो नयाँदिल्ली पुगेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
आज समकक्षी जयशंकरसँग द्विपक्षीय वार्तापछि साँझ साढे सातबजे भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीसँग भेटवार्ताको कार्यक्रम उनी दिल्ली पुगेपछि तय भएको हो । भेटमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश र नेपाल भ्रमणको निमन्त्रणापत्र मोदीलाई हस्तान्तरण गर्नेछिन् ।
मन्त्री राणाले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग पनि भेटवार्ता गर्नेछिन् । भेटमा मन्त्री राणाले उनलाई राखी बाँधिदिने कार्यक्रम पनि छ । आज उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेपछि भोलि उनले स्वास्थ्य जाँच गराउने छिन् । उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजन प्रमुख ढुंगाना, दिल्लीस्थित कार्यबाहक राजदूत डा. सुरेन्द्र थापा र राजनीतिक काउन्सिलर दुरपदा सापकोटा सहभागी हुनेछन् । प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरसँगको भेटमा यो प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले हिजो बेलुकी नेपाली दूतावासमा रात्रिभोज आयोजना गरेका थिए ।
प्रतिक्रिया